कांग्रेसको इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तीव्र: ३२ उपसमिति गठन, कुन समितिको नेतृत्व कसलाई? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसभित्रको इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’ को तयारीलाई व्यापक र व्यवस्थित बनाउन ३२ वटा उपसमितिहरू गठन गरेको छ। भेलालाई भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ अन्तर्गत रहने गरी ती उपसमितिहरू निर्माण गरिएका हुन्।

प्रचार प्रसार समितिका संयोजक मीनबहादुर विश्वकर्माका अनुसार भेलाका लागि नीतिगत प्रस्ताव लेखनदेखि भौतिक एवं प्राविधिक व्यवस्थापनसम्मका जिम्मेवारी बाँडफाँड गर्दै प्रभावशाली नेताहरूलाई उपसमितिको संयोजक तोकिएको छ। जसअनुसार राजनीतिक प्रस्ताव तयारीको जिम्मेवारी पूर्वउपसभापति विमलेन्द्र निधिलाई दिइएको छ भने साङ्गठनिक प्रस्ताव पूर्वसहमहामन्त्री उमाकान्त चौधरी र समसामयिक प्रस्ताव एनपी साउदले तयार पार्नेछन्। विधान संशोधन तथा मस्यौदाको नेतृत्व रमेश लेखकले गर्नेछन् भने आर्थिक नीति समितिको नेतृत्व डा. प्रकाशशरण महतले सम्हाल्नेछन्।

यसै गरी आर्थिक व्यवस्थापनमा दीपक खड्का, प्रशासन समन्वयमा मोहनबहादुर बस्नेत, भोजन व्यवस्थापनमा पूर्णबहादुर तामाङ ‘कान्छाराम’, स्वयंसेवक परिचालनमा जितजंग बस्नेत, मञ्च तथा हल व्यवस्थापनमा राजु श्रेष्ठ र वैदेशिक रोजगार व्यवसायी समन्वयमा सीता देवकोटा संयोजक रहेका छन्। भातृ, शुभेच्छुक तथा विभिन्न समुदाय समन्वयका लागि पनि बेग्लाबेग्लै नेताहरूलाई जिम्मेवारी सुम्पिएको छ। प्रदेश समन्वय तहतर्फ सुदूरपश्चिममा वीरबहादुर बलायर, कोशीमा गोमा भट्टराई, मधेसमा पदमनारायण चौधरी, बागमतीमा शिव हुमागाईँ, गण्डकीमा गुरु बराल, लुम्बिनीमा गेहेन्द्र गिरी र कर्णालीमा सीता रानाले नेतृत्व पाएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा