काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकको खोजी, उद्धार र राहत वितरणमा सरकार असफल भएको भन्दै विपक्षी राजनीतिक दलहरूले कडा आलोचना गरेका छन्।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मङ्गलबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, एमाले लगायतका विपक्षी दलका नेताहरूले विशेषगरी जलविद्युत् सुरुङमा फसेका नागरिकहरूको उद्धारका लागि आवश्यक अन्तर्राष्ट्रिय प्रविधि र विशेषज्ञता जुटाउन सरकार चुकेको आरोप लगाएका हुन्। एमाले नेता प्रदीप ज्ञवाली र कांग्रेस प्रवक्ता देवराज चालिसेले टनेल उद्धारमा सरकारले ढिलासुस्ती गरेको तथा राहत वितरणमा तीनै तहका सरकारबीच समन्वय हुन नसकेको बताए।
उता रास्वपाका प्रवक्ता जगदीश खरेलले भने बाढी प्रभावित जिल्ला, प्रदेश र स्थानीय तहसम्मै सर्वदलीय संयन्त्र बनाएर उद्धार तथा राहत कार्य अघि बढाउने सहमति भएको दाबी गरे। विपक्षी दलहरूका महत्त्वपूर्ण सुझावलाई समेटेर सरकार द्रुत उद्धार र दीर्घकालीन पुनर्निर्माणमा लाग्ने उनले स्पष्ट पारे।





