काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै कांग्रेसको रूपान्तरण र नयाँ नेतृत्वको आगमनप्रति खुसी व्यक्त गरेका छन्। आइतबार खुलामञ्चमा आयोजित कांग्रेस महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पुराना पार्टीहरूको पुरानो विचार र परम्परागत नेतृत्वले मात्र अब मुलुकको आवश्यकता पूरा गर्न नसक्ने बताए।
सम्बोधनका क्रममा डा. भट्टराईले आफूले एक दशकअघि नै दलहरूको रूपान्तरण हुनुपर्ने वा नयाँ वैकल्पिक शक्ति उदाउनुपर्ने धारणा राखेको स्मरण गरे। मुलुकमा नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनु र कांग्रेस पनि रूपान्तरणको बाटोमा अग्रसर हुनु सकारात्मक संकेत भएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियालगत्तै आफूले कांग्रेसको भावी नेतृत्व गगन थापा हुने आकलन गरेको प्रसंग समेत सुनाए।
यसैगरी उनले सङ्घीयता, लोकतन्त्र र धर्मनिरपेक्षता वर्तमान संविधानका आधारभूत खम्बा भएकाले यसलाई नचलाउन र ऐतिहासिक बलिदानबाट प्राप्त उपलब्धि नमास्न चेतावनी दिए। सम्भव भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान सकिने भए पनि व्यवस्थामाथि नै प्रहार नगर्न आग्रह गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू तत्काल पूरा गर्न राजनीतिक दलहरूलाई आह्वान गरे।





