सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारी आन्दोलित: ५६ हजारभन्दा बढी विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि परिषद्अन्तर्गतका सम्पूर्ण शैक्षिक र प्रशासनिक गतिविधिहरू ठप्प भएका छन्। नयाँ ‘करार व्यक्ति छनोट कार्यविधि २०८३’ मार्फत कर्मचारी कटौती गर्न खोजिएको भन्दै देशभरका करिब दुई हजार दुई सय कर्मचारीहरूले रोजगारी सुनिश्चितताको माग राखेर केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। यस आन्दोलनका कारण देशभरका ६७ आङ्गिक शिक्षालय, परीक्षा नियन्त्रण कार्यालय र प्रदेश कार्यालयहरूबाट प्रवाह हुने सेवा प्रभावित बनेको छ।

कर्मचारीहरूको हडतालले शैक्षिक सत्र २०८३ का लागि सञ्चालन हुन लागेको डिप्लोमा र प्रि-डिप्लोमा तहको प्रवेश परीक्षासमेत अनिश्चित बनेको छ। उक्त परीक्षाका लागि कुल ५६ हजार ९ सय २६ जना विद्यार्थीले आवेदन दिएका छन्। आन्दोलनरत श्रमिक केन्द्रीय सङ्घर्ष समितिका अनुसार हालै ६४ जना कर्मचारीलाई निष्कासन गरिएको र १ हजार ५ सय २६ जनाको म्याद मात्र दुई महिना थपिएकाले आफूहरूको भविष्य अन्योलमा परेको छ। विगत तीन दशकदेखि संस्था धान्दै आएका श्रमिकलाई श्रम शोषण गरी जागिरबाट निकाल्न खोजिएको उनीहरूको आरोप छ।

सीटीईभीटी व्यवस्थापन पक्षले भने आन्दोलनरत कर्मचारीहरूका अधिकांश मागहरू परिषद्को अधिकार क्षेत्रभन्दा बाहिर रहेकाले शिक्षा तथा खेलकुद मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ। हाल परिषद् नेतृत्वविहीन रहेको अवस्थामा दुवै पक्षबिच ठोस सहमति नजुटेसम्म प्राविधिक शिक्षातर्फको समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुने जोखिम बढेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा