नेपालमा फेरि भाइरसको नयाँ उत्परिवर्तन पुष्टि भएसँगै सम्भावित जोखिमबारे मानिसहरूले चिन्ता एवं चासो व्यक्त गर्न थालेका छन्। नयाँ दिल्लीस्थित एउटा प्रयोगशालामा जीन सीक्वन्सिङ गर्दा भाइरसका तीनवटा नमुनामा उत्परिवर्तन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जेठको मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट सङ्कलित नमुनामध्ये ४७ वटा असार ३० गते भारत पठाइएको थियो। ती नमुनाको जीन सीक्वन्सिङ गर्दा “सबैमा डेल्टा भेरिअन्ट पुष्टि भएको” तथा तीमध्ये “तीन वटामा थप उत्परिवर्तन K417N भेटिएको” मन्त्रालयले मङ्गलवार जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ उत्परिवर्तनलाई A.YI नाम दिइएको छ।
योसहित नेपालमा हालसम्म ‘भेरिअन्ट अफ कन्सर्न’का रूपमा वर्गीकरण गरिएका अल्फा र डेल्टा भेरिअन्ट तथा ‘भेरिअन्ट अफ इन्टरेस्ट’का रूपमा रहेको कापा भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अमेरिकाको मिनिसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेओ क्लिनिकमा कार्यरत भाइरसविद् डा. सुदीप खड्काका अनुसार नयाँ जीन सीक्वन्सिङको नतिजा हेर्दा झन्डै ६ प्रतिशतमा K417N उत्परिवर्तन देखिन्छ।
“बुझ्नुपर्ने कुरा के छ भने कहिलेकाहीँ एउटा म्यूटेशन थपियो भने त्यसले भाइरसलाई कमजोर बनाइदिने हुन्छ भने कहिलेकाहीँ एउटा म्यूटेशनले पनि नै सङ्क्रमणको जोखिम बढाइदिने हुन्छ”, खड्काले टेलिफोनमा बीबीसीसँग भने। “यदि यो नयाँ उत्परिवर्तनका कारण सङ्क्रमण तीव्र रूपमा बढ्ने रहेछ भने नयाँ म्यूटेशन भएको भाइरस देखिँदै जाने र पुरानो हराउँदै जाने सीक्वन्सिङबाट देखिनेछ। त्यो भएर पटकपटक सीक्वन्सिङ गर्दै मिहिन किसिमले हेर्नुपर्ने हुन्छ।”
वरिष्ठ भारतीय भाइरसविद् डा. शाहिद जमीलले K417N नाम दिइएको उत्परिवर्तनले एन्टिबडीहरू अर्थात् रोगप्रतिरोधी क्षमताको प्रभावकारिता कम गर्ने ठानिएको गत महिना समाचारसंस्था रोएटर्सलाई बताएका थिए। नेपालमा पुष्टि भएका भेरिअन्टहरू बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।







