ए केटा ! चार बज्यो उठ् नत्र ब्रह्मचारी गुरुजी आउनुहुन्छ ।
जसले सदाचार र अनुशासनको पाठ सिकाइ अनेकौँ गन्तव्यविहीन गोरेटोहरूमा सफलताका रेखाहरू कोरेर एउटा फराकिलो बाटो बनाइदिनुभयो , म उहाँको शिष्य भनौँदौ बबुरोले आज उहाँको बारेमा दुई वाक्य कोर्नुपर्दा सकस मानिरहेको छु । खैर यी शब्दहरू केवल केवल केवल मेरा परमपूज्य ब्रह्मचारी गुरुका पाउमा श्रद्धार्थका लागि हुनेछन् ।
*****
यो त्यतिबेलाको कुरा हो , जतिबेला नेपालमा वि.सं. २०६९ साल वैशाख महिना चलिरहेको थियो । मेरो गुरुकुल प्रवेशको पहिलो वर्ष । देवघाटमा गुरुकुल पढ्नेहरूका लागि नयाँ भर्ना लगत्तै लिखित तथा मौखिक परीक्षाको माहोल चलिरहेको थियो । आमा र म देवघाटस्थित हरिहर मन्दिरभित्र परमानन्द संस्कृत गुरुकुलम्का प्रधानाध्यापकलाई खोज्दै हिँडेका थियौँ । त्यो दिन हामीले सर्वप्रथम आश्रमभित्र पसेर मन्दिर दर्शन गर्यौँ । त्यहाँ थुप्रै हामी जस्ता नयाँ अनुहारहरू पनि थिए । मन्दिर परिसरमा सेतो धोती,सेतो च्यादर भिरेका म जत्रै साना साना केटाहरू कसैलाई हात जोडेर नारायण भन्दै , कसैलाई खुट्टामा ढोग गर्दै यत्रतत्र हिँडिरहेका थिए । हामीले मन्दिर दर्शन गरेर सकिसक्दासम्म मैले दुई कुरा सिकिसकेको थिएँ । रातो कपडा लगाएका बुढा देखिनेहरूलाई बा नारायण भन्दै ढोग गर्नुपर्ने रहेछ र सेता कपडा लगाएका दारी जुङ्गा पालेका अलिक ठुला उमेर भएकालाई गुरुजी नारायण भन्नुपर्नेरहेछ । हामी हिँड्दाहिँड्दै रक्तचन्दनको रूखनेर पुग्यौँ । अलिक अगाडि सन्तभवन अघिल्तिरको गुरुकुटीमा गेरु रङको गञ्जी लगाएका जसको आधा रङ उडिसकेको थियो , गेरु रङकै एउटा धोती र गेरु रङकै एउटा पातलो च्यादर काँधमा भिरेर आधा पलेँटी कसेर बस्नुभएका एक जना बा हुनुहुन्थ्यो । आमा र म नजिकै गयौँ । आमाले गुरु नारायण भन्नुभयो, मैले बा नारायणम् भनेँ , उहाँले मुस्कुराउँदै नारायण फर्काउनुभयो । सायद ती बालाई आमाको अनुहारको भावभङ्गी देखेर आभास भैसकेको हुँदोहो कसैलाई खोजिरहेको कुरा, त्यसैले उहाँले आँफै सोध्नुभयो – कसलाई खोज्नुभयो ? । आमाले भन्नुभयो – यहाँको प्रमुख गुरु , प्रधानाध्यापक सुभाव चैतन्य गुरुलाई । ती बा पुन: मुस्कुराउँदै बोल्नुभयो , हजुर भन्नुस् । त्यो सुन्ने बित्तिकै आमाले सिकाए अनुसार म उहाँका पाउमा पूर्णतया शिर झुकाएर पहिलोपटक प्रणाम गरेँ । उहाँले उठाउनुभयो र गालामा दाहिने हातको शीतलो स्पर्शले चिमोटेर स्नेहपूर्वक नाम के हो ? भनेर सोध्नुभयो । त्यहीँबाट सुरु भयो मेरो गुरुसँगको आत्मीयता । सुकेको स्वरमा अलिकति डर ,केही लाज र हाँसो मिश्रित लवजमा मैले भनेँ – सङ्गम बस्याल । उहाँनै गुरुजी हुनुहुँदोरहेछ भनेर थाहा पाइसकेपछि केही सङ्कोचका साथसाथै मलाई अचम्म पनि लाग्यो । त्यो सादा पहिरन , बोलीमा मधुरता अहो ! यति साधारण मान्छे । यत्रो ठुलो गुरुकुलको प्रमुख व्यक्तिमा यस्तो सरलता देखेर म अचम्मित भएँ । किनकी भर्खर बोर्डिङ पढेर आएको एउटा बच्चोलाई यति थाहा थियो, विद्यालयको प्रमुख मान्छे प्रिन्सिपल सर जसलाई हामीले कहिल्यै प्रधानाध्यापक गुरु भनेर उच्चारण गर्न पाएनौँ । प्रिन्सिपल सर भन्ने बित्तिकै सबैको सातो खाने सर मात्र बुझिन्थ्यो । मलाई तत्काल चाहिँ यस्तो लाग्यो , गुरुकुलमा प्रवेश गर्ने बित्तिकै मैले मेरो गुरु भेटाएँ ,पहिलो ज्ञान उहाँले लगाउनुभएको गन्जीबाट पाएँ भने दोस्रो उहाँको सरलताबाट पाएँ । मैले पहिलो शब्दमा नै उहाँलाई बा भनेर पुकारेछु । साँच्चैनै म जस्ता हामीहरूका लागि ब्रह्मचारी गुरुजी बा हुनुहुन्छ । अभिभावक हुनुहुन्छ । मैले पछि बल्ल थाहा पाएँ उहाँको पूरा नाम ब्रह्मचारी सुभाव चैतन्य रहेछ ।
*************
गुरुकुल प्रवेश गरेदेखि अहिलेसम्ममा समयले नेटो काटेको पनि आज करिब ११ वर्ष भएछ ।
अहिले पनि मेरो मस्तिष्कमा बारबार एउटा कुरा सम्झनामा आइरहन्छ ।
एकपटक गुरुजीलाई कसैले सोधेछ – हजुर को हुनुहुन्छ नि यो आश्रमको ? गुरुजीले भन्नुभएछ – म चौकीदार हुँ ।
गुरुजीको त्यो वाक्यलाई अहिले हृदयले नियाल्दा मलाई मेरो स्मृतिले विद्यालयका ती दिनहरूमा पुर्याउँछ । जहाँ मनको एउटा आवाजले यसरी घचघचाइरहन्थ्यो । अहिले पनि मलाई सधैँ घचघचाइरहन्छ । ए केटा ! चार बज्यो , उठिहाल् ! नत्र पानी लिएर ब्रह्मचारी गुरुजी आउनुहुन्छ । आरतीको घन्टी बज्यो छिटो हिँड्, नत्र ब्रह्मचारी गुरुजी आउनुहुन्छ । विद्यालयको घन्टी लाग्यो प्राङ्गणमा जा, नत्र ब्रह्मचारी गुरुजी आउनुहुन्छ । भोजनालयको घण्टी लाग्यो छिटो दगुर् , नत्र ब्रह्मचारी गुरुजी आउनुहुन्छ । सन्ध्याको घन्टी लाग्यो छिटो हिँड् , नत्र ब्रह्मचारी गुरुजी आउनुहुन्छ । आश्रमको धारो बिग्रियो ब्रह्मचारी गुरु , बिजुली बत्ती बिग्रियो ब्रह्मचारी गुरु ,कोठाहरूका चाबी चाहिए ब्रह्मचारी गुरु , अतिथि आए ब्रह्मचारी गुरु , कहीँ जानुपर्यो सोध्न जाऊ ब्रह्मचारी गुरु , कोही बिरामी भयो ब्रह्मचारी गुरु ,कसैले खाना खाएन भने ब्रह्मचारी गुरु, गाई बिरामी भए ब्रह्मचारी गुरु,आरतीमा हल्ला नगर् नत्र ब्रह्मचारी गुरुजीले देख्नुहुन्छ, सन्ध्यामा छिटो गइहाल् नत्र ब्रह्मचारी गुरुजी आउनुहुन्छ, नदीतिर नजा नत्र ब्रह्मचारी गुरुजी आउनुहुन्छ । अहो ! एउटै व्यक्ति कहाँ – कहाँ ,कसरी-कसरी के-के बन्न सकेको ,के-के गर्न भ्याएको । उहाँकै स्नेहको छहारीमा मैले कक्षा ६,७,८,९,१०,११,१२ हुँदै शास्त्रीसम्मको कक्षा सकेँ । यतिका वर्षसम्म आश्रममा विद्यालयको अर्को भवन बन्यो,होस्टल इन्चार्जर शिव दाइबाट कृष्णदेव दाइ फेरिनुभयो, दाउरा राख्ने गोठ फेरियो , गुरुभण्डारा गर्ने ठाउँ फेरियो , हामीलाई पढाउने अनेकौँ गुरुहरू फेरिनुभयो , बाह्रपटक वसन्तहरू फेरिए, मेरो अनुहार जिउज्यान फेरियो , कक्षाहरू फेरिए , अनेकौँ कुराहरू फेरिए , साथीहरू फेरिए , अनुजहरू फेरिए, अग्रजहरू फेरिनुभयो तर चउरमा भएको आँप र लिचीको रुख जस्तै नफेरिएको एउटै व्यक्ति हुनुहुन्थ्यो ब्रह्मचारी गुरुजी। यतिका समयसम्म मन्दिरमा बिजुलीबाट बज्ने घन्टी पनि कतिपटक बिग्रियो होला , थाक्यो होला तर कहिल्यै नथाकेको कहिल्यै आराम गरेर नबसेको एउटै महात्मा हुनुहुन्छ ब्रह्मचारी गुरुजी । जस्तै स्थिति , परिस्थितिमा पनि उहाँमा कहिल्यै परिवर्तन आएन । आफ्नो निष्ठा र आचरणमा कहिल्यै कमी हुन दिनु भएन । आँफू सदाचारणमा बसेर हामीलाई नीतिनियमको पाठ पढाइरहनुभयो । जसको आधारस्तम्भमा पूरा आश्रम,मन्दिर,गुरुकुल संरक्षित छ । जसप्रति मेरो र म जस्ता हामीहरूको श्रद्धामा कहिल्यै कमी आएन र जसको मप्रति र म जस्ता हामीहरू प्रतिको प्रेममा कहिल्यै भेद आएन त्यस्ता महात्मा हुनुन्छ ब्रह्मचारी गुरुजी । गोविन्द गोपाल दाइले भन्नुभएजस्तै हामीलाई हामीले भन्दा नजिकबाट कसैले चिनेको छ भने उहाँ हुनुहुन्छ ब्रह्मचारी गुरु । अहिले पनि जब जब एक्लो महसुस हुन्छ , जब जब कठिनाइहरू आइपर्छन् त्यस बखत् ब्रह्मचारी गुरुजीले आरती सन्ध्या , विद्यालय प्राङ्गण , बरन्डाहरूमा बसेर दिनुभएका आँट, हिम्मत र हौसलाहरू सम्झन्छु । मनमा एउटा उत्साह जाग्छ । अझै पनि – केही गल्तीहरू हुँदैछ भने भित्रबाट एउटा तरङ्गित आवाज आउँछ – ” यस्तो नगर् है , नत्र ब्रह्मचारी गुरुजी आउनुहुन्छ । “
**********
अनवरतरूपमा वि.सं.२०२८ सालदेखि लगातार जसले गुरुकुल र विद्यार्थीहरूको भविष्यका लागि आजीवन ब्रह्मचर्यमा रहेर आफ्नो उमेर र पसिना खर्चनुभयो उहाँ नै हो हाम्रो ब्रह्मचारी गुरु । जसको उपस्थिति मात्रले नै सबैकुरा यथास्थितिमा चल्छ, त्यस्ता हुनुहुन्छ ब्रह्मचारी गुरुजी । जसको दर्शन गरेर हिँड्नाले हरेक कार्यहरू सफल हुन्छन् ,त्यस्तो हुनुहुन्छ ब्रह्मचारी गुरुजी । जसले पाइला पाइलामा पल पलमा आचारविचार , आहारविहार र अनुशासनको पाठ सिकाइरहनुभयो त्यस्तो सदाचारी हुनुहुन्छ हाम्रो ब्रह्मचारी गुरु ।
************
आज म जहाँ , जे जसरी उभिन सकेको छु मेरो परमाधार हुनुहुन्छ ब्रह्मचारी गुरु । मैले पढ्ने हरेक अक्षरहरूका वर्णमाला हुनुहुन्छ ब्रह्मचारी गुरु । मैले लेख्ने हरेक कविताको भाव हुनुहुन्छ ब्रह्मचारी गुरु । मैले पाउने हरेक सफलताका कारक हुनुहुन्छ ब्रह्मचारी गुरु । मैले पाउने अनेक पुरस्कारको प्रेरणा हुनुहुन्छ ब्रह्मचारी गुरु । मैले भोग्ने हरेक दु:खहरूमा सहानुभूति हुनुहुन्छ ब्रह्मचारी गुरु । मेरो प्रेरणाको स्रोत , मेरो हिम्मत र आँट हुनुहुन्छ ब्रह्मचारी गुरु । म जस्ता हामीहरूको भरोसा र अभिभावक हुनुहुन्छ ब्रह्मचारी गुरु ।
********
एक महिना अगाडि एक दिन अचानक एउटा साथीको मेसेज आयो ” यही साउन ६ गते ब्रह्मचारी गुरुजीले सन्न्यास लिनु हुँदैछ आउनुहोला है । ” एकछिन् त पत्यार लागेन पछि साथीसँग भलाकुसारीहरू भए , कुरा साँचो रहेछ । साथीसङ्ग कुराहरू भैसकेपछि मन एकोहोरियो , आँखाभरी आँसु भए । भित्तेपात्रो पल्टाएर साउन ६ गतेलाई हेरेँ , गुरुपूर्णिमाको दिन रहेछ । एकै खाले पहिरन एउटै चिनारीमा चिनिनुभएका मेरा गुरु साउन ६ गते पछि अर्कै पहिरन र अर्कै नाउँले चिनिनुहुनेछ भन्ने कुराको कल्पना मात्र गर्दा पनि मन अर्कै हुनेरहेछ । अहिले एक हृदय अनौठो लागेको छ ,भावुक भएको छ । अर्को मन हर्षित पनि छ । अन्योलमा छु । खैर , यो पालीको गुरुपूर्णिमा मेरा लागि विशेष हुनेछ । हजुरहरूका लागि पनि विशेष होस् । अन्त्यमा यही भन्न चाहेँ :- गुरुलाई अन्तिम पटक पुरानो रूप र पहिलोपटक नयाँ स्वरूपमा देख्ने सौभाग्यलाई नछुटाऔँ । ए , अनि एउटा कुरा :- तपाईँ आउनुस् है नत्र ब्रह्मचारी गुरुजी आउनुहुन्छ 😀। सबैजना आउनुहोला ।
— शास्त्री संयोग बस्याल
