“विदेशी भूमिको चिसो रात”

(संघर्षको मैदानमा थकाइ प्रतीक्षाको कथा)

रातको दुई बजेको समय थियो। सहरका बत्तीहरू झिलमिल गरिरहेका थिए, तर उस्का आँखामा निद्राको रत्ति पनि अंश थिएन। थाकेको शरीर ओछ्यानमा पल्टिएको थियो, तर मन भने हजारौं किलोमिटर टाढा आफ्नै गाउँको आँगनमा भौतारिरहेको थियो।

दिनभरको कामले हात दुख्थ्यो, काँध पोल्थ्यो। बिहानको टिफिन हतारमा खाइन्थ्यो, बेलुकीको खाना कहिले ठिक समयमा भेटिन्न। उसले यहाँ जिन्दगीका धेरै कुरा सिकिसकेको थियो — चिसोमा पसिना पसार्ने कला, मुस्कानमा पीडा लुकाउने अभ्यास, र अपूरो निद्रामा पनि सपनालाई बाँध्ने शक्ति।

कहिले–कहिँ रातको शान्तीमा मोबाइलको उज्यालो मात्रै साथ दिन्थ्यो। घरका अनुहारहरू स्क्रिनमा मुस्कुराउँथे, अनि आँखाबाट बिस्तारै नदेखिने आँसुको थोपा खस्ने गर्थ्यो। मनमा केवल एक प्रश्न घुमिरहन्थ्यो —
“कति समय लाग्ला यो संघर्षको अन्त्य हुन?”

विदेशी भूमिमा ऊ केवल कामदार होइन, सपनाको सिपाही हो। बिहान उठ्दा थकाइले होइन, जिम्मेवारीले उठाउँछ उसलाई। दिनभरको पसिना, रातभरको निद्राहीनता — यही हो उसको यात्रा।
आफ्ना हातले घरमा खुसी पठाउने लक्ष्यले उसको हरेक पीडा अर्थपूर्ण बन्छ।

तर कहिलेकाहीँ ऊ आफैंलाई सोध्छ —
“के म बाँचिरहेको छु? वा केवल प्रतीक्षामा बिताइरहेको छु?”
प्रतीक्षा — घर फर्किने, परिवारको न्यानो अँगालोमा फर्किने, र फेरि निश्चिन्त निद्राको रातको प्रतीक्षा।

त्यो रात फेरि ऊ निदाउन सकेन। मोबाइलको स्क्रिनमा आमाको मुहार हेर्दै ऊ मुस्कुरायो। अनि मनमनै भन्यो,
“अलिकति अझै सहनुपर्छ आमा… म आउँछु, एक दिन अवश्य आउँछु।”

@adeeep

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा