वासिङ्टन डीसी । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्लेसँग विगत तीन दशकयता पहिलोपटक विश्व बैंकका अध्यक्षको प्रत्यक्ष द्विपक्षीय भेटवार्ता भएको हो।
भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बिमा तथा सामाजिक संरक्षणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण स्रोत परिचालनबारे गहन छलफल गरेका छन्। विश्व बैंकका अध्यक्ष बाङ्गाले बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
अध्यक्ष बाङ्गाले नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै पूर्वाधार विकास र स्वदेशमै रोजगारी सिर्जनामा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग समन्वय गरी नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल थाल्ने जानकारी समेत दिएका छन्।





