कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा मानिसको निधनसमेत भएपछि सरकार थप सतर्क बनेको छ ।विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ६३ औं दिन हो ।
यस्तै सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने गरि कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटीमा लकडाउन गरिरहेको छ ।
पछिल्लो समय ३ जना कोरोना भाइरस संक्रमितको निधन भएको छ भने संक्रमितको संख्या बढेर ६ सय नाघेको छ । संक्रमण थप जिल्लाहरुमा बिस्तार भएसँगै जनमानसमा त्रास बढेपनि नेपालमा कोरोना संक्रमित धमाधम निको हुँदै गएका छन् । आइतबारसम्म नेपालका कुल संक्रमित मध्ये १०५ जना निको भएर घर फर्किइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु पनि सबै सामान्य अवस्थामा उपचाररत छन् ।
आइतबार राति वीरगञ्जको नारायणी अस्पतालबाट १८ जना डिस्चार्ज भएका छन् । १८ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १०५ पुगेको हो । गत बैशाख २१ गते अस्पताल भर्ना भएका उनीहरु सबै एकै परिवारका रहेको बताइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर मदन उपाध्यायले भन्नुभयो- ‘आइतबार एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किनु भएको छ, उहाँहरुको २ पट नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरेका हौ । डिस्चार्ज हुनेमा ११ जना पुरुष र ७ जना महिला रहेका छन् ।
योसँगै पर्सामा मात्रै निको हुनेको संख्या २५ पुगेको छ भने देशभर निको हुनेको संख्या १०५ पुगेको छ । हालसम्म नेपालमा ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक गरी हालसम्म तीन जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।