काठमाडौँ । नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको प्रतिबन्धको नकारात्मक असर निरन्तर देखिन थालेको छ। फिफाको निलम्बनका कारण नेपाल एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजित यू–२० एसियन कप छनोट प्रतियोगिताबाट बाहिरिन पुगेको हो।
एएफसीले चीनमा आयोजना हुने यू–२० एसियन कप छनोटका लागि खेल तालिका र समूह विभाजन सार्वजनिक गरे तापनि त्यसमा नेपाली टोलीलाई समावेश गरिएको छैन। एन्फामा तेस्रो पक्षको अस्वाभाविक हस्तक्षेप भएको निष्कर्ष निकाल्दै फिफाले गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बित गरेको थियो। सोही प्रतिबन्धका कारण नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएको हो।
फिफा प्रतिबन्धका कारण नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको यो लगातार तेस्रो पटक हो। यसअघि नेपालले एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू–१७ महिला एसियन कप छनोट प्रतियोगिता समेत गुमाइसकेको छ। निलम्बन फुकुवा नभएसम्म नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएकाले आगामी साफ च्याम्पियनसिपमा नेपाली टोलीको सहभागितासमेत गम्भीर अन्योलमा परेको छ।





