प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ र आर्मी खेल्दैछन् । त्रिभुवन विश्वविद्यालयको टियु क्रिकेट मैदानमा हुने फाइनलमा १० लाख पुरस्कारको उपाधिका लागि आर्मी र एपीएफ खेल्न लागेका हुन् ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे हुनेछ । एपीएफका कप्तान शरद भेषवाकारले फाइनलसम्म पुग्नु एपीएफका लागि ठूलो उपलब्धि भएको र फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्ने बताए ।
आर्मीका कप्तान बिनोद भण्डारीले आवश्यक पर्दा संकट टार्ने क्षमताका खेलाडी रहेकाले आजको उपाधि जित्न प्रयत्नशील रहने बताएका छन् ।
एपीएफले पहिलो सेमिफाइनलमा अर्का विभागीय टोली नेपाल पुलिसलाई हराएर फाइनलमा पुगेको हो भने त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो ।
फाइनल जित्ने टोलीले १० लाख पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ५ लाख पुरस्कार पाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडीले ५० हजार र उत्कृष्ट बलर तथा व्याट्सम्यानले २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।