उठ्न लागेको नेपाली क्रिकेटलाई फेरि धक्का

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गत असोज अन्तिम साता नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन सर्तसहित फुकुवा गरेको थियो।

साढे तीन वर्षपछि निलम्बन फुकुवा गरेपछि आइसिसीले क्यानमाथि विभिन्न सर्त राखेको थियो।

आइसिसीले एसोसिएट सदस्यको मापदण्डको पूर्णरूपमा पालना गर्न संक्रमणकालीन योजना बनाएको थियो। योजनामा नियन्त्रित अनुदान रकम पनि उल्लेख थियो।

आइसिसीको सर्त पूरा गर्न क्यानले विभिन्न योजना बनाएको थियो। सर्त पालाना गरेका कामको विवरण क्यानले आइसिसीलाई पठाइरहेको थियो।
तर यो क्रम अहिले रोकिएको छ। कोरोना भाइरसका कारण क्यानको पूर्ण निलम्बन हुने प्रक्रिया रोकिएको हो।

‘कोरोना भाइरसका कारण भएको लकडाएनले क्यानको पूर्ण निलम्बन फुकुवा प्रक्रिया पनि प्रभावित भएको छ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले सेतोपाटीसँग भने,’आइसिसीको कार्यालय बन्द भएकाले पूर्ण निलम्बन प्रक्रिया प्रभावित भएको हो।’

पूर्ण निलम्बन फुकुवा नुहँदा क्यानले आइसिसीबाट प्राप्त गर्नु पर्ने रकमदेखि अन्य सुविधा पाएको छैन। यस्तै निर्वाचित क्यानले आफ्ना काम पूर्ण स्वतन्त्र भएर गर्न पाएको छैन।

कोरोना भाइरसले क्यानका कार्यक्रम पनि प्रभावित भएका छन्। चार वर्षदेखि हुन नसकेका उमेर समूह र सिनियर स्तरका प्रतिस्पर्धा फेरि पछाडि धकेलिएका छन्।
‘क्यानको निलम्बनले चार वर्षदेखि राष्ट्रिय प्रतियोगिता भएका छैनन्। ग्रासरुट क्रिकेट शून्यको अवस्थामा छ,’ उनले भने, ‘क्रिकेटलाई तल्लो स्तरदेखि नै संचालन गर्नका लागि हामीले योजना बनाएका थियौं। तर कोरोनाका कारण सबै कार्यक्रम प्रभावित भए।’

क्यानले यहि वर्ष महिला तथा पुरुषको राष्ट्रिय एकदिवसीय, टी-२० तथा यु-१९ प्रतियोगिता गर्ने तयारी गरेको थियो। यस्तै नेपाल प्रिमियर लिग टी-२० फ्रेञ्चाइज लिग संचालन गर्ने पनि क्यानको योजना थियो। अब यी सबै प्रतियोगिता अनिश्चितकालका लागि धकेलिएका छन्।

सरकारले निर्देशन दिएको अवस्थामा दर्शकबिनाको मैदानमा क्रिकेट गतिविधि सञ्चालन गर्न तयार रहेको सचिव प्याकुरेलले बताए।

‘सरकारले निश्चित मापदन्ड बनाएर खेल गतिविधि गर्न अनुमति दिएमा हामी दर्शकविनाको मैदानमा खेलहरू संचालन गर्न तयार छौं,’ उनले भने।

क्यानका सचिव प्याकुरेल सरकारले बजेट उपलब्ध गराउने प्रधानमन्त्री कप प्रभावित हुनेमा पनि चिन्तित छन्।

‘कोरोनाले सरकारलाई आर्थिक घाटा परेको छ। त्यसैले आगामी बजेटमा सरकारका प्राथमिकता परिवर्तन हुनेछन्। प्रधानमन्त्री कप पनि प्रभावित भएमा हामीले प्रश्न उठाउने कुरा हुन्न,’ उनले भने।

कोरोनाले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि अनिश्चितकालका लागि स्थगित छन्। नेपालले खेल्ने आइसिसी विश्वकप लिग-२ का तीन वटा सिरिज तथा टी-२० विश्वकपको एसिया क्षेत्रीय छनोट गरी चार वटा प्रतियोगिता स्थगित भएका छन्।

कोरोनाले क्यानलाई करोडमाथिको आर्थिक घाटा परेको सचिव प्याकुरेलले बताए। ‘कति क्षति भयो भन्ने विषयमा हिसाब गरिरहेका छौं। सरसर्ती हेर्दा लाखमा होइन करोडमा क्षति भएको देखिन्छ,’ उनले भने।

कोरोनाका कारण क्यानलाई आउने अनुदान रकम रोकिएको छ भने प्रायोजन गर्न ठिक्क पारिएका प्रस्ताव थन्किएका छन्।

कोरोनाकै कारण गत फागुनमा कीर्तिपुरमा भएको नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिजको रकम पनि आइसिसीले अझै पठाएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा