चितवन । इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे नजिकै मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान तीनवटा सवारीसाधन एकआपसमा जुध्दा २६ जना यात्रु घाइते भएका छन्। दुर्घटनाका घाइतेहरूलाई घटनास्थलबाट तत्काल उद्धार गरी एम्बुलेन्समार्फत थप उपचारका लागि भरतपुर पठाइएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ७:१० बजेको समयमा काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस र सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस आपसमा जुधेका थिए। सोही क्रममा काठमाडौँतर्फ नै गइरहेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो।
दुर्घटना लगत्तै केही समय अवरुद्ध बनेको यस सडकखण्डमा अहिले दुर्घटनाग्रस्त सवारीसाधनहरूलाई पन्छाएर दुवैतर्फी यातायात पूर्ण रूपमा सुचारु गरिएको छ। घटनाको विस्तृत विवरण र कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।




