भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प: निजी क्षेत्रको खर्बौँ लगानी जोखिममा, नयाँ सरकारसँग गुहार

रुपन्देही । राज्यको ३५ अर्ब र निजी क्षेत्रको त्योभन्दा दोब्बर लगानी खन्याइएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लामो समयदेखि अन्तर्राष्ट्रिय उडानविहीन बन्दा स्थानीय व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘फ्लाई दुबई’ले सेवा सुरु गरेसँगै भैरहवाबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गराउन निजी क्षेत्रले नवनिर्वाचित सरकारसँग प्रभावकारी कूटनीतिक र नीतिगत पहलको माग गरेको छ।

विमानस्थल सञ्चालनमा आउने आशामा भैरहवा, बुटवल र आसपासका क्षेत्रमा होटल, रिसोर्ट, यातायात र पर्यटन पूर्वाधारमा निजी क्षेत्रले अर्बौँ रुपैयाँ लगानी विस्तार गरेको थियो। तर, नियमित उडानको अभावमा पर्यटक आगमन ठप्प हुँदा बैंकको किस्ता र ब्याज तिर्नसमेत धौधौ परेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारी बताउँछन्। विमानस्थललाई लक्षित गरी गरिएको यो विशाल लगानी अहिले ‘बालुवामा पानी’जस्तै बन्न पुगेको व्यवसायीहरूको गुनासो छ।

यसअघि तत्कालीन प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवासमक्ष डेलिगेसन पुगेर व्यवसायीहरूले कम्तीमा एउटा भए पनि अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवा जोड्न निरन्तर दबाब दिएका थिए। बुद्ध जन्मस्थल लुम्बिनीसहित समग्र पश्चिम नेपालको आर्थिक तथा पर्यटकीय समृद्धिका लागि विमानस्थलको पूर्ण सञ्चालन अपरिहार्य रहेको भन्दै नयाँ सरकारले यस पटक ठोस अग्रसरता लिनेमा निजी क्षेत्र आशावादी देखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा