बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ । यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ । हाल महामारी ल्याएको कोरोना भाइरसको तुलनामा नयाँ प्रजातिको संक्रामक दर ७० % बढी देखिएको बेलायती वैज्ञानिकहरुले बताएका छन् । यसको मृत्युदर पहिलेको तुलनामा धेरै छ कि, उस्तै छ कि थोरै छ भन्ने बिषय अध्ययन गर्न बाँकी छ । डाक्टर रविन्द्र पाण्डेले आफ्नो फेसबुकमा लेखेको जस्ताको तस्तै :
म्युटेसन भएर आएको यो प्रजातिको ‘ स्पाइक प्रोटिन ‘ जसले भाइरसलाई हाम्रा कोषभित्र पुर्याउने काम गर्छ, पहिलेको भन्दा फरक भएको जनाइएको छ । यो फरक प्रजातिमा हाल बिकास भएका खोपले काम गर्छन् कि गर्दैनन् भन्ने द्विविधा उत्पन्न भएको छ ।
कोरोना भाइरस यसरी म्युटेसन हुँदै जाने हो भने फ्लुको जस्तै खोपलाई संसोधन गर्दै प्रत्येक बर्ष लगाइरहनु पर्ने हुनसक्छ । त्यस्तै नयाँ प्रजाति फैलियो भने पहिले संक्रमण भएर निको भएका व्यक्तिको एन्टिबोडीले काम नगर्न सक्छ ।
अहिले बेलायतसंग संसारले नै हवाइ सम्पर्क बिच्छेद गरेको छ भने सिमाना जोडिएको फ्रान्सले ४८ घन्टाको लागि आवतजावत बन्द गरेको छ । यसले गर्दा खाधान्न तथा औषधि बोकेका हजारौं लरी सडकमा फसेका छन् । WHO लगायत अन्तराष्ट्रिय संघसंस्थाहरुले यो प्रजातिको कोरोना भाइरसको अध्ययन सुरु गरेका छन् । केहि दिनमै यो प्रजातिको धेरै विवरण आउने अपेक्षा गर्न सकिन्छ ।