काठमाडौं । भारतको महाराष्ट्र राज्य अन्तर्गत बारामतीमा बुधबार बिहान भएको निजी चार्टर्ड विमान दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको ज्यान गएको छ।
जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन अजित पवार बारामतीतर्फ जाँदै थिए। दुर्घटनाग्रस्त विमानमा उनीसँगै उनका निजी सहायक, सुरक्षाकर्मी र विमानका कर्मचारी सवार थिए।
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएपछि दुर्घटना भएको हो। दुर्घटनामा विमानमा रहेका सबै यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। नियामक निकायले दुर्घटनाग्रस्त विमान दिल्लीस्थित चार्टर कम्पनी भीएसआरको स्वामित्वमा रहेको लियरजेट–४५ रहेको जनाएको छ।
दुर्घटना क्र्यास ल्यान्डिङका कारण भएको हो वा प्राविधिक समस्याका कारण भएको हो भन्ने विषयमा अहिलेसम्म आधिकारिक रूपमा स्पष्ट भइसकेको छैन।
दुर्घटनास्थलबाट सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विमानमा भीषण आगलागी भएको, बाक्लो धुवाँ आकाशतर्फ उडिरहेको र जलेका अवशेष चारैतिर छरिएको देखिन्छ।




