काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भारत सरकारले सशस्त्र प्रहरी बललाई ठुलो परिमाणमा सुरक्षा सामग्री सहयोग गरेको छ। भारतले सशस्त्र प्रहरीलाई अनुदान स्वरूप १० हजार थान टियर ग्याँस सेल (अश्रुग्यास) उपलब्ध गराएको हो। निर्वाचनका क्रममा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई सामना गर्न यो सहयोग प्राप्त भएको सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूले जनाएका छन्।
यसका साथै, भारत सरकारले निर्वाचन प्रयोजनकै लागि नेपाल सरकारलाई कुल ५३८ वटा सवारी साधन सहयोग स्वरूप हस्तान्तरण गरेको छ। गृह मन्त्रालयका अनुसार भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअपहरू प्राप्त भएका छन्। यीमध्ये सरकारले सशस्त्र प्रहरी बललाई ९३ वटा गाडी उपलब्ध गराएको छ, जसलाई देशका विभिन्न जिल्लाहरूमा सुरक्षा व्यवस्थापनका लागि पठाइएको छ।
सशस्त्र प्रहरीलाई प्राप्त भएका ती ९३ वटा गाडीमध्ये ४४ जिल्लामा सवारी साधन परिचालन भइसकेका छन्। आइतबार मात्रै थप १० जिल्लामा नयाँ गाडीहरू पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। निर्वाचनको समय नजिकिँदै गर्दा प्राप्त भएको यो सहयोगले सुरक्षा निकायको कार्यक्षमता बढाउन र देशभर शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।




