धादिङमा यात्रुबस त्रिशूलीमा खस्यो: १७ जनाको मृत्यु, २७ जनाको घाइते अवस्थामा उद्धार

काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका-५, भैंसेगौडामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत राति करिब १ बजेतिर ग१ख १४२१ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृत्यु हुनेमा ६ महिला र ११ पुरुष रहेका छन्। मृतक र घाइतेहरूको पहिचान खुल्न अझै बाँकी छ। दुर्घटनामा विदेशी पर्यटकहरू पनि परेको र जसमा एक जना न्यूजिल्याण्डका नागरिक रहेको पुष्टि भएको छ।

दुर्घटना लगत्तै घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाट र कुरिनटारबाट गोताखोरसहितको टोलीले उद्धार कार्य गरेको थियो। घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ।

रातिको समय र भौगोलिक विकटताका कारण उद्धार कार्यमा निकै कठिनाइ भएको थियो। उद्धारकर्मीहरूले टर्चको सहायताले घाइतेहरूलाई उद्धार गरी डुङ्गामार्फत करिब एक किलोमिटर तलसम्म पुर्‍याएर सडकसम्म ल्याएका थिए। सडकबाट ३०० मिटर तल खसेको बस क्षतविक्षत अवस्थामा फेला परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा