काठमाडौँ । चीनले म्यानमारको सीमावर्ती क्षेत्रमा सक्रिय रहेका कुख्यात माफिया ‘मिंग’ परिवारका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ। म्यानमारलाई आधार बनाएर संगठित अपराध, अनलाइन ठगी (स्क्याम) र आपराधिक साम्राज्य चलाएको अभियोगमा उनीहरूलाई यो कडा सजाय दिइएको हो।
झेजियाङ प्रान्तको अदालतले गत सेप्टेम्बरमै मिंग परिवारका ती सदस्यहरूलाई हत्या, मानिसहरूलाई अवैध रूपमा नजरबन्दमा राखेको, ठगी र अवैध जुवा घर सञ्चालन गरेकोमा दोषी ठहर गरेको थियो। चीनको सर्वोच्च अदालतले हालै उक्त फैसलालाई अन्तिम रूप दिँदै प्रमाणहरू पर्याप्त र निर्णायक रहेको पुष्टि गरेको छ।
दक्षिण-पूर्वी एसियामा तीव्र रूपमा फैलिरहेको साइबर अपराध र मानव तस्करी विरुद्ध चीनले चालेको यो अहिलेसम्मकै सबैभन्दा कडा कदम हो। यस्ता स्क्याम सेन्टरहरूमा विभिन्न देशबाट मानिसहरूलाई तस्करी गरी ल्याउने र उनीहरूलाई बन्धक बनाएर विश्वभर अनलाइन ठगी गर्न बाध्य पार्ने गरिन्छ।
पछिल्ला महिनाहरूमा चीनले म्यानमार र अन्य छिमेकी देशहरूसँगको समन्वयमा ठूलो स्तरको अपरेसन चलाइरहेको छ। यसक्रममा हजारौँको संख्यामा स्क्याम सञ्चालक र अपराधीहरूलाई पक्राउ गरी चीन फिर्ता ल्याइएको छ। यो मृत्युदण्डको फैसलाले सीमापार अपराधमा संलग्न अन्य गिरोहहरूलाई ठूलो चेतावनी दिएको विश्लेषण गरिएको छ।




